खेलकुद

तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता उपाधि सलहेश युवा क्लबलाई



ताप्लेजुङ ।   अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८२ को उपाधि सलहेश युवा क्लब, सिराहाले जितेको छ । ताप्लेजुङ जिल्ला फुङलिङ वजार स्थित भानुजन माविको खेलमैदानमा शनिबार भएको फाईनलमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाईटेड, ललीतपुरलाई २–० ले हराउँदै सलहेशले उपाधि जितेको हो ।

दुवै टोलीले पहिलो हाफ ०–० को बराबरी खेले । दोस्रो हाफको ७९ औं मिनेटमा सलहेशका सुनिल खड्काले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । यसै गरी, खेलको ९० औं मिनेटमा युसुफ मल्लिकले गोल गर्दै २–० को अग्रतासहित आफ्नो टिमको जित सुनिश्चित गरे ।

सेमिफाईनलमा सलहेशले जोया रेडस्टार फुटबल क्लब, झापालाई २–० ले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । यसै गरी, चर्च ब्वाईजले सेमिफाईनलमा दि योङ ब्रदर्स क्लब, सुनसरीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै फाईनल यात्रा तय गरेको थियो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको नजिता टाईब्रेकर मार्फत लिइएको थियो ।

लाखे जात्रा सञ्चालन समितिद्धारा आयोजित प्रतियोगिताको विजेता सलहेशले नगद ७ लाख २ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥र्यो । उपविजेता बनेको चर्चले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगितामा व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र नव उदयमान खेलाडीलाई जनही १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । यसै गरी, हरेक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

 

प्रकाशित : ३१ श्रावण २०८२, शनिबार, ,