राजनिति

विधान विपरीतको भेलामा सहभागी नहुनू कांग्रेसको अपिल



ललितपुर ।   नेपाली कांग्रेसले पार्टीभित्रको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपिल गरेको छ।

कांग्रेसले आफ्ना सबै तहका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारीलाई विधान विपरीतका गतिविधिमा संलग्न नहुन सचेत गराएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय बीपी नगर, ललितपुरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको नाममा हुने गतिविधि पार्टी विधान विपरीत भएकाले सहभागी नहुन नेता तथा कार्यकर्तालाई अपिल गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै नियमित १५ औं महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जानकारी दिए। कांग्रेसले गत पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकबाट १५ औं महाधिवेशनको मिति २०८३ वैशाख २८ देखि ३१ गतेसम्मका लागि तोकिसकेको छ।

‘विधान अनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको पृष्ठभूमिमा अवैधानिक ढङ्गबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन,’ बैठकको निर्णयमा भनिएको छ, ‘कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय समितिलाई मात्र छ।’ बैठकले वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा नरहेको र यसले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने चिन्ता व्यक्त गरेको छ।

 

प्रकाशित : २३ पुस २०८२, बिहिबार, ,