पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको तेस्रो पूर्ण बैठक ११ बुँदे घोषणापत्र जारी गरेको छ । पोखराको कालाबाङ सामुदायिक होमस्टेमा संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षता पुस ४ र ५ गते बसेको बैठकले घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घविरुद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ ।
बैठकले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरेको प्रति गम्भीर आपत्ति जनाएको छ । बैठकले फोनिजकर्मीका लागि राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम तथा फेलोसिप लगायत विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छछ ।
हाल फोनिजका देश तथा विदेशमा गरी ९७ वटा शाखा छन् । फोनिजमा कुल ४ हजार ५ सय ६४ जना आदिबासी पत्रकार आवद्ध रहेको फोनिज महासचिव समीर बलामीले बताए ।
कालाबाङ घडेरीका होमस्टेमा घुइचो
कालाबाङ सामुदायिक घडेरी होमस्टे पर्यटकीय राजधानी पोखरा शहरबाट १२ किलोमिटर दूरीमा छ । पोखरा महानगरपालिका २२ मा पर्ने त्यस होमस्टेमा एकसय ५६ घरधुरी सोमध्ये १८ घरले होमस्टे सञ्चालनमा गरीआएकाछन् । १जसमा १२ घर गुरुङको, ५ घर ब्राह्मण र १ घर दलितको होमस्टे सञ्चालन छन् । नौबर्ष अघिबाट सञ्चालनमा आएको होमस्टेबाट मनग्गै आम्दानी लिन सफल भएकाछन् । त्यहाँको १८ होमस्टेमा एक रातमा ७० पाहुना बस्न सक्ने ब्यवस्था छ ।
अर्गानिक एवं त्यही उत्पादित परिकार खानका लागि त्यहा पुग्ने गरेकाछन् । सान्त वातावरण र रैथाने परिकार खान पाइने भन्दै बिदाको समय बढि होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेकाछन् । होमस्टेमा महिला दाजुभाइहरुको आत्मीयता स्थानीय शैलीले पर्यटकको मन लोभ्याने गरेको छ ।
नेपाल होमस्टे महासङ्घका उपाध्यक्ष तथा होमस्टे सञ्चालक प्रकाशचन्द्र गुरुङले २५० वर्ष पुरानो बस्ती पहिले कालो घना वन भएकै कारण त्यस ठाउँको नाम कालावनबाट अपभ्रंश हुँदै कालाबाङ भएको बताए । सञ्चालक गुरुङका अनुसार नेपालभरी करिब ८ सय होमस्टे सञ्चालनमा रहे पनि बालाबाङ जस्तो समावेशी होमस्टे नभएको उहाँको दाबी छ ।
पर्यटकका लागि हरेक साँझ स्थानीय सांस्कृतिक प्रस्तुति र अर्गानिक खानेकुराले आन्तरिक तथा बाह्य पर्यटक घरेडी होमस्टेमा लोभिने गरेको उहाँको बुझाइ छ ।
अर्का होमस्टे सञ्चालक दुर्गाबहादुर गुरुङले प्राकृतिक छटाले भरिएको कालाबाङ होमस्टेमा आउने पाहुनालाई शिरमै देखिने सेताम्मे हिमालले मनमोहक पार्ने गरेको बताउनुभयो । प्रतिव्यक्ति खानासहित ११ सय ५० देखि १२ सय रुपियाँसम्म प्रतिदिनको प्याकेज अन्य ठाउँको तुलनामा सस्तो भएको बताउनुभयो ।
असोज, कात्तिक, मङ्सिर, पुस र माघदेखि नयाँ वर्षसम्म पर्यटकहरु होमस्टेमा बढी आउने गरेको उहाँको भनाइ छ । समुद्री सतहदेखि करिब १४ सय मिटरको उचाइमा रहेको कालाबाङमा धेरै जाडो नहुने र धेरै गर्मी पनि नहुने विशेषता रहेको उहाँले बताउनुभयो ।
होमस्टेमा पुग्नु भएका पोखरा महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत मुक्तिनाथ अर्यालले आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको र होमस्टे सञ्चालनले पर्यटकको आकर्षण अझ बढेकोमा उत्साह थपिदिनु भयो । पर्यटन क्षेत्रको प्रवर्धनमा स्थानीय रहनसहन, भेषभूषा, सांस्कृतिक पक्षहरुको भूमिका महत्वपूर्ण रहने गरेको र आदिवासीको संस्कारजन्य गतिविधिले पर्यटकहरु आकर्षित हुनेगरेको उहाँको बुझाइ छ ।
वडा २२ का वडाअध्यक्ष हिमलाल बरालले स्थानीय गाइने सारङ्गी यहाँको पहिचान भएको बताउँदै वडा अध्यक्ष बरालले पूर्वाधार विकासको तीव्रताले अझै पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सोहि स्थानमा पुग्नू भएका अर्का पोखरा महानगरपालिकाका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले राम्रो हावापानी, यहाँको अतिथि सत्कार गर्ने शैली, ऐतिहासिक र सांस्कृतिक पक्षले गर्दा पर्यटकहरु आकर्षित हुनेगरेका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ सम्पन्न हुन अब एक साता बाँकी रहँदा पोखरामा करिब २० लाख पर्यटक ल्याउने लक्ष्य महानगरको रहेको जानकारी दिनुभयो ।
कालावाङ घोषणापत्र
१. गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण दुःखद छ । स्वतन्त्र प्रेसमाथि हुने यस्ता घटना अन्त्य गरी प्रेसप्रति जिम्मेवार बन्न सबैपक्षसँग यो बैठक आग्रह गर्दछ ।
२. २०८२ मंसिर १९ गते रिपोर्टिङको क्रममा तेह्रथुम जिल्ला म्याङलुङ –८ फोनिज तेह्रथुम जिल्ला अध्यक्ष बबीता राईमाथि भएको आक्रमण र कुनैपनि पत्रकारमाथी हुने आक्रमण प्रति यो बैठक भत्र्सना गर्दछ । आक्रमण गर्नेमाथि छानबिन गरी संलग्नलाई हदैसम्म कारबाहीका लागि प्रशासनसँग माग गर्दछौं । पत्रकारलाई निर्वाद समाचार लेख्ने वातावरण निर्माण गर्न र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित्ताका लागि तीनै तहको सरकारसमक्ष यो बैठक आग्रह गर्दछ ।
३. श्रमजीवी पत्रकारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक सबै सञ्चार संस्थाहरुमा लागू गराउन र श्रमजीवी पत्रकारले सञ्चालन गरेको स्वरोजगारमूलक मिडियाको संरक्षण, प्रवर्धन र विकासमा ठोस योगदान गर्न तीनै तहका सरकारसमक्ष यो बैठक माग गर्दछ ।
४. मातृभाषामा प्रकाशित तथा प्रसारित सञ्चार माध्यमको अवस्था दयनीय रहेकाले सञ्चार माध्यम तथा त्यसमा कार्यरत मातृभाषी पत्रकारको क्षमता बृद्धि, सञ्चारमाध्यमको आर्थिक प्रवर्धनका लागि सरकारसँग यो बैठक माग गर्दछ ।
५. प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनमा आदिवासी जनजाति समुदायले सञ्चालन गरेको पत्रपत्रिकाको वर्गीकरणमा विभेद नगर्न यो बैठक ध्यानाकर्षण गराउँदछ । त्यस्तो विभेदलाई तत्काल संशोधन गर्न यो बैठक माग गर्दछ ।
६. सदस्य संख्या र संगठनको हिसाबले नेपालकै ठुलो पत्रकारको संगठन हो फोनिज । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत पत्रकारसम्बद्ध संघ संस्थालाई हरेक वर्ष प्रदान गरिने अनुदान रकममा फोनिजलाई सम्मानपूर्व व्यवहार र व्यवस्था गर्न बैठक माग गर्दछ ।
७. नेपालको संविधान २०७२ ले आदिबासी जनजातिको हकहितका लागि सुनिश्चित गरेको व्यवस्था– संघीयता, पूर्ण समावेशीता, समानुपातिक व्यवस्था, धर्म निरपेक्षता, स्वायत्तता, विशेष क्षेत्र, संरक्षित क्षेत्रको कार्यान्वयनका लागि कानुन बनाई लागू गर्न यो बैठक माग गर्दछौं ।
८. प्रदेश १ मा जारी पहिचान आन्दोलन, मुकुमलुङ र खुवालुङ समस्या वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सरकार र सम्बद्ध पक्षसँग यो बैठक आग्रह गर्दछ ।
९. नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको तथ्य स्पष्टै छ । महासङ्घको महाधिवेशनले कार्यदल गठन गरी अध्ययन गराइ निष्कर्षमा पुग्ने भनिए पनि अहिलेसम्म प्रगति भएको नदेखिएकाले महाधिवेसनको म्यान्डेटअनुसार तत्काल अध्ययन टोली गठन गरी समस्या समाधान गर्न महासंघसँग यो बैठक आग्रह गर्दछ । अन्यथा फोनिज चरणवद्ध आन्दोलनमा जाने घोषणा गर्दछ ।
१०. गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरको पोखरा भ्रमण वर्ष २०२५ सफल भइसकेको छ । आगामी दिनमा पनि यसैगरी यस क्षेत्रको निरन्तर पर्यटकीय विकास प्रवर्धनका लागि यहाँको पर्यटकीय, धार्मिक, सांस्कृति विकासका साथै कालावाङ लगायत होमस्टे, ग्रामीण पर्यटकीय विकासको प्रवर्धन गर्न तीनै तहको सरकारसँग यो बैठक माग गर्दछ ।
११. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को तेस्रो संघीय पूर्ण बैठकलाई सफल पार्न सहयोग गरेकोमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, फोनिज गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, कालाबाङ घरेडी सामुदायिक होमस्टे लगायतलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।











प्रतिक्रिया