घटना

१२ सय ७६ थान घातक हतियार लुटिए, ५ सय ५६ थान हतियार अझै फेला परेनन्



काठमाण्डौ ।   २४ भदौको हिंसात्मक प्रदर्शनमा नेपाल प्रहरीका विभिन्न ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनीपछि १२ सय ७६ थान घातक हतियार लुटिएका थिए । त्यसमध्ये ७ सय २० थान मात्रै सुरक्षा निकायले फिर्ता ल्याएको छ तर लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेका छैनन्।  ठूला र साना हतियारसहित अझै धेरै हतियार नियन्त्रणमा आउन बाँकी रहेकाले जसले शान्ति सुरक्षामा चुनौती थपिएको छ। प्रहरीका अनुसार लुटिएका हतियार र फरार कैदीबन्दीका कारण सुरक्षा निकायहरूले सरकारलाई गम्भीर चुनौतीको संकेत गरेका छन्।

नेपाल प्रहरीका ब्यारेक तथा कार्यालयबाट इन्सास र एसएलआरसहित २ सय ८५ नाल ठूला पेस्तोललगायत २ सय ७१ नाल साना हतियार अझै नियन्त्रणमा आएका छैनन् । यसले शान्ति सुरक्षामा समेत चुनौती थपिएको प्रहरी अधिकारीहरुले बताउँदै आएका छन् ।
त्यसबेला २८ कारागार र बालसुधार गृह तथा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका सहित कुल १४ हजार ४३ जना कैदीबन्दी र थुनुवा भागेका थिए । तीमध्ये अझै करिब ५ हजार कैदीबन्दी र थुनुवा पक्राउ परेका छैनन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार जेन–जी आन्दोलनपछि ‘आपराधिक गतिविधि’ मा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट २ सय ३७ जनालाई पक्राउ गरेको छ । कोशीबाहेक सबै प्रदेशबाट प्रहरीको हातहतियार, व्यक्तिगत सम्पत्ति लुटपाट, आपराधिक उपद्रव र अभद्र व्यवहारको कसुरमा उनीहरू पक्राउ परेका हुन् । ‘जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आपराधिक गतिविधिमा संलग्न आरोपितहरू प्रहरी हिरासतमा छन्,‘ कसुरअनुसार मुद्दा दर्ता पनि भइरहेका छन् ।’ प्रहरी प्रवक्ताका अनुसार  ‘ कतिपय हाजिर जमानतमा छुटेको अवस्था पनि छ,’

प्रकाशित : १० कार्तिक २०८२, आइतबार, ,