समाचार

अनलाइन संचार माध्यमलाई मान्यता दिन नेपाल पत्रकार महासंघको माग



पोखरा ।  नेपाल पत्रकार महासंघले युट्युब लगायतका सामाजिक सञ्जालहरूलाई पत्रकारिताकै प्लेटफर्मको रूपमा स्वीकार गरेको छ ।

इन्टरनेटका माध्यममा भइरहेको पत्रकारिताको अभ्यासलाई पनि पेशागत पत्रकारिताको श्रेणीमा राखेर आवश्यक कानुनी मान्यता, नीति, र नियमन प्रणालीको दायरामा ल्याउन महासंघले सरकारसँग माग गरेको छ ।

पोखरामा सम्पन्न महासंघको दुई दिने तेस्रो बैठकले इन्टरनेट र प्रविधिको तीव्र विकाससँगै सूचनाको प्रवाह शैलीमा आएको आमूल परिवर्तनलाई स्वीकार गर्दै डिजिटल माध्यमहरूमा भइरहेको पत्रकारिता महासंघको ठहर छ । इन्टरनेट र प्रविधिको तीव्र विकास पत्रकारिता राज्यद्वारा स्थापित मापदण्ड र संरचनाभित्र ल्याउनु पर्नेमा जोड दिएको हो ।

महासंघले युट्युबलगायत डिजिटल प्लेटफर्महरूलाई पत्रकारिता पेशाकै अंगका रूपमा परिभाषित गरी दर्ता, मान्यता, प्रशिक्षण, आचारसंहिता, श्रम अधिकार, र सामग्री नियमनका सवालमा स्पष्ट कानुनी व्यवस्था गर्न माग गरेको महासंघका केन्द्रीय सदस्य लवदेव ढुडगानाले जनाएको छ ।

अनलाइन टिभीहरुलाई कानुनी मान्यता नदिँदा बरिष्ठ पत्रकार दिलभूषण पाठक जस्ता पत्रकारहरुलाई अनावश्यक झमेलामा परेको महासंघको बुझाइ छ ।
सञ्चारमाध्यम माथिको अनावश्यक दबाब, पोष्ट डिलिटका निर्देशन, श्रमजीवी पत्रकारको पारिश्रमिक कटौती तथा अपमानजनक व्यवहारप्रति विरोध जनाउँदै महासंघले श्रमिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ ।

पत्रकार सुरेश रजकको हत्या र पत्रकारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महासंघले निष्पक्ष छानबिन र पत्रकार सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी महासंघले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता तथा न्यूनतम पारिश्रमिकको कार्यान्वयन सुनिश्चित गर्न बैठकमा छलफल भएको जनाएकाछन् ।

प्रकाशित : ९ असार २०८२, सोमबार, ,