काठमाडौं । ‘जहिले पनि हामी भरिया समात्छौं, मालिक समात्दैनौं । सभामुखमार्फत मेरो अनुरोध छ– मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको हुँदैन’ बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले भने ।
स्वतन्त्र सांसद सिंहको जस्तै सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटाले पनि यो प्रकरण उठाए । ‘डलर र युरो गरेर २५ करोड रुपैयाँ बरामद भएको बाहिर आएको छ । यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झांगिरहेको छ भन्ने प्रस्ट हुन्छ,’ सांसद सापकोटाले भने ।
२५ करोड प्रकरणको गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग बुधबारको प्रतिनिधिसभा बैठकमा उठ्यो । यो प्रकरणले संसदसम्म चर्चा पाउँदा २५ करोडसहित पक्राउ परेका कुसाङ लामाको गाउँमा भने सुनसान छ ।
भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष साङबु लामा भन्छन्, ‘काठमाडौं संसद्सम्म चर्चा पायो होला । यता त सुनसान छ । मलाई एक–दुई जनाले फोन गरे, त्यति नै हो । गाउँघरमा केही हल्लाखल्ला छैन ।’
वडाध्यक्ष लामाले २५ करोडसहित पक्राउ परेका आफ्नै वडाका ४३ वर्षीय फुच्चे भनिने कुसाङलाई राम्रोसँग चिन्ने बताउँछन् । उनको सबै परिवार र बा–आमासँग समेत राम्रो चिनजान रहेका वडाध्यक्ष साङबुले पनि २५ करोडको हैसियत भएका व्यक्ति कुसाङ नरहेको बताएका छन् ।
यसअघि प्रहरीले समेत कुसाङ भरिया मात्रै रहेको बताए पनि अब यो २५ करोडका मालिक को हुन् भन्ने चासो बढेको छ । यही विषयमा बोल्दै सांसद सिंहले मालिक पत्ता लगाउनुपर्ने बताए ।
२५ करोडका मालिक खोजीको विषय संसदसम्म पुग्दा न भरियाले मालिकको नाम लिएका छन् न प्रहरीले नै भन्न सकेको छ । बरु सूचना भए हामीलाई सहयोग गर्नुस् न भन्ने बाहेक प्रहरी अधिकारीहरू औपचारिक रुपमा यस विषयमा बोल्दैनन् ।
प्रहरीको दाबीअनुसार पक्राउ परेका भरियाले भने आफूलाई सामाखुसीमा एक चिनियाँ नागरिकले उक्त रकम दिएको दाबी गरेका छन् । चालकमाथिको सिलिङमा फल्स बटम बनाएर राखेको अवस्थामा गाडिसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति १० बजेतिर झोरबाट उनलाई पक्राउ गरेको थियो । उक्त ट्रक नुवाकोट हुँदै त्रिशुली निस्केर रसुवागढी हुँदै केरुङ जाने तयारीमा रहेको प्रहरीको दाबी छ । समाचार सेत ःअनलाइन खबर)











प्रतिक्रिया