चीन । चीनमा पनि मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । यसअघि अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण मानिसमा गरिसकिएको थियो । चीनको शान्सी प्रान्तमा रहेको एयर फोर्स मेडिकल युनिभर्सिटीस्थित सिजिङ अस्पतालमा सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण गरिएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरअनुसार त्यहाँको मेडिकल टिमले यही मार्च ६ मा ६९ वर्षीया एक महिलामा अणुवांशिक रुपमा तयार पारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको हो । प्रत्यारोपण भएको तेस्रो दिनदेखि नै मिर्गौलाले सामान्य अवस्थामा जस्तै काम गर्न थालिसकेको थियो । छैटौँ दिनसम्म पनि मिर्गौलाको कार्य स्थिर र राम्रो रहेको बताइएको छ । छैटौँ दिनमा मिर्गौलाले २४ घण्टामा ५ हजार ४६८ मिलिलिटर पिसाब उत्पादन गरेको थियो। मिर्गौला प्रत्यारोपण भई यसमा रक्तप्रवाह हुनेबित्तिकै यसले पिसाब उत्पादन गरी काम गर्न सुरु गरेको भनिएको छ। सिरम क्रिएटिनिन् लेभल र मिर्गौलाले गर्ने जैविक कार्यका सूचकहरू राम्रो रहेको छ ।
सिन्ह्वाले उल्लेख गरेअनुसार ती महिलाको मिर्गौला फेल भएको कुरा ८ वर्षअघि पत्ता लागेको थियो । उपयुक्त दाता फेला नपर्दा प्रत्यारोपण हुन सकेको थिएन । हप्तामा ३ पटक डायलासिस गर्दै आएकी थिइन् । पछिल्लो समय डायलासिसका कारण हुने जटिलताहरूले गर्दा उनको स्वास्थ्य बिग्रँदै गएको थियो।
यो सफलता चिकित्सा क्षेत्रमा एक कोसेढुंगा सावित हुने चिकित्सकहरूको भनाइ छ । अंगदाताको अभावमा प्रत्यारोपण गर्न नपाएका कयौँ बिरामीका लागि यो नयाँ आशा भएको प्रत्यारोपणको नेतृत्व गर्ने सिजिङ अस्पतालका डाक्टर डु केफेङले बताएका छन् ।
चीनमा अहिले करिब १३ करोड मिर्गौला फेल भएका व्यक्ति रहेको सिन्ह्वाले जनाएको छ । हरेक वर्ष लाखौँको संख्यामा मिर्गौला बिरामीहरू बढिरहेका छन्। गत वर्ष पहिलो पटक अमेरिकामा सुँगुरको मिर्गौला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो। म्यासाचुसेट्स राज्यस्थित म्यासाचुसेट्स जनरल अस्पतालका चिकित्सकले उक्त सफलता हात पारेका थिए । मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय ती पुरुषको करिब २ महिनापछि मृत्यु भयो ।
यसै वर्षको जनवरीमा पनि म्यासाचुसेट्स अस्पतालमै सुँगुरको मिर्गौला लिएर अर्को प्रत्यारोपण भएको थियो। गतवर्ष चिनियाँ वैज्ञानिकहरूले जेनेटिक रुपमा परिमार्जित सुँगुरको मिर्गौला बाँदरमा प्रत्यारोपण गरी परीक्षण गरेका थिए । त्यसले ६ महिनासम्म राम्रो काम गरेको रिपोर्टले देखाएको थियो । यसपछि मान्छेमा पनि लामो समय काम गर्छ भन्ने निष्कर्ष निकालिएको थियो ।











प्रतिक्रिया