अन्तर्राष्ट्रिय

बेलायतले २.२६ अर्ब पाउण्डको सैन्य सहायता युक्रेनलाई

यो घटनाले युक्रेन–अमेरिका सम्बन्धलाई संकटमा पुर्‍याउने



बेलायत ।   बेलायतले युक्रेनलाई २।२६ अर्ब पाउण्डको सैन्य सहायता दिने भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बाझाबाझ पछि विरक्तिएर बेलायत पुगेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री कियर स्टार्मबीच भएको भेटवार्तापछि सैन्य सहायतामा सम्झौता भएको छ ।

डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरु पनि रहेको भन्दै आफूहरु निकै खुसी भएको बताएका थिए । भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको थियो । बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो ।

जेलेन्स्की शनिबार अमेरिका गएका थिए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो । यो घटनाले युक्रेन–अमेरिका सम्बन्धलाई संकटमा पुर्‍याएको विश्लेषकहरुले बताएका छन् ।

यसबीचमा बेलायतका प्रधानमन्त्री स्टार्मर भने अमेरिका र युरोपबीच सेतु बन्ने प्रयासमा छन् । आइतबार स्टार्मरले लण्डनमा युरोपेली नेताहरुको बैठक आह्वान गरेका छन् । यो बैठकमा रुस–युक्रेन युद्ध अन्त्यको प्रयास र युरोपेली देशको रक्षा सुदृढीकरणबारे छलफल हुने बताइएको छ । ( स्रोत बीबीसी )

प्रकाशित : १८ फाल्गुन २०८१, आइतबार, ,