राजनिति

१६५ सीटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता



काठमाडौँ ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गरेका हुन । उम्मेदवारी दर्ता गर्नेमा ३ हजार ८८ पुरुष र ३९५ महिला रहेका छन् ।

फागुन २१ मा हुने निर्वाचन क्षेत्र १६५ सीटमा उमेदवारी परेको हो । मंगलबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने
आयोगले जनाएको छ ।

प्रकाशित : ७ माघ २०८२, बुधबार, ,