संघीय राज्य भनेकाे विभिन्न राज्यहरू मिलेर बन्ने राज्यहरूकाे संघ हाे । यसमा राज्यहरूले केही निश्चित साझा लक्ष्यहरू राखेर सम्झाैता गरेका हुन्छन् । अन्यथा राज्य संचालन गर्न संघमा आवद्ध राज्यहरूले आ-आफ्नो विशेषता अनुसारकाे माैलिक कानून बनाएर लागू गर्ने ब्यवस्थापकिय तथा कार्यपालिका सम्बन्धि अधिकार हुन्छ । संघीय इकाई देश अनुकुल भिन्न-भिन्न नाम रहेकाे छ । जस्तैः संयुक्त राज्य अमेरिका र भारतमा राज्य, रूसमा प्रान्त, स्विजरल्याण्डमा क्यान्टन र नेपालमा प्रदेश भनिन्छ ।
संघीय राज्य अन्तरगत सेना, मुद्रा, परराष्ट्र र राष्ट्र गाैरवका याेजनाहरू समावेश हुन्छन् भने संघीय इकाईहरूले आफ्नाे स्वतन्त्र पहिचान र स्वायत्त शासनको अधिकार प्रयोग गरी राज्यकाे संगठन, नियन्त्रण र संतुलनकाे नीति अपनाएका हुन्छन् । देशकाे जातीय, धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्बाेधन गर्ने शासन प्रणाली भएकाे हुनाले संघीय राज्यलाई प्रगतिशील शासन प्रणालीको रूपमा लिइन्छ । संघीय राज्यकाे निर्माण तल (समुदाय)बाट नै हुने हुँदा संघीय राज्य प्रणालीले वास्तविक जनताकाे प्रतिनिधित्व गरेकाे हुन्छ । त्यसैले संघीय राज्य प्रणालीमा राज्यशक्तिकाे श्राेत जनतालाई मानिन्छ । याे संघीय राज्य प्रणाली विश्वकै पुरानाे संरचना हाे । यसकाे गठन प्रक्रिया २ किसिमबाट भएकाे पाइन्छ ।
पहिलाे- राज्यहरूसँगै आउने विधि ( Coming together )-
संघीय राज्यहरूकाे निर्माण विभिन्न ऐतिहासिक कालखण्डमा तत्कालीन समाजकाे आवश्यकतालाई पूरा गर्ने र आफ्नो स्वायत्ततालाई अविछिन्न रूपमा बचाई राख्ने उदेश्य अधीन भएकाे देखिन्छ । पहिलेका स-साना स्वतन्त्र राज्यहरूले एक आपसमा मिलेर वा सम्झौता गरेर संघ निर्माण गरेका थिए । यसरी संघीय राज्य बन्दै गर्दा स-साना राज्यहरूकाे पनि अस्तित्वसँगै आउने विधि ( coming together ) भनिन्छ । जस्तैः संयुक्त राज्य अमेरिका, साेभियत संघ, स्विजरल्याण्ड इत्यादि ।
दाेस्राे- राज्यहरूसँगै राख्ने विधि ( Holding together )-
देशकाे पुरानाे एकात्मक राज्य प्रणालीकाे ठाउँमा समाजकाे आवश्यकता अनुसार विभिन्न इकाईहरूमा विभाजन गरी केन्द्र र प्रदेशबीच अधिकारकाे बाँडफाँड सहित नयाँ संरचनाहरू बन्दछन् । यसरी बनेकाे संघीय राज्य प्रणालीले उत्पीडित समुदायकाे प्रतिनिधित्व गरेकाे हुन्छ । त्यसैले जातिगत, भाषिक, धार्मिक तथा भाैगाेलिक विविधताबीच राज्यलाई खण्डित हुनबाट जाेगाउन राज्यहरूसँगै राख्ने विधि ( Holding together ) भनिन्छ । जस्तैः भारत, बेल्जियम, नेपाल इत्यादि ।
नेपाल बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले भरिएकाे मुलुक हाे । २३८ वर्षसम्म सामन्ती एकात्मक राज्य प्रणालीले यहाँका सबै जाति, जनजाति, वर्ग, क्षेत्र र लिङ्ग र समुदाय काे अधिकारलाई कुन्ठित गरेकाे हुनाले विभिन्न समयमा उत्पीडित समुदायले विद्राेह गरेका छन् । परिणाम स्वरूप सामन्ती एकात्मक राज्य प्रणालीको ठाउँमा संघीय राज्य प्रणाली अर्थात संघीय लाेकतान्त्रिक गणतन्त्र, नेपाल घाेषणा भएकाे छ । यधपी संघीय राज्य प्रणालीमा जनताले साझेदारी गर्ने केन्द्रमा साझा शासन, आफ्नो अलक पहिचानकाे आधारमा संघीय इकाइमा स्वायत्त शासन र दुवै तहका ब्यवस्थापिका तथा कार्यपालिकाहरू अधिकार सम्पन्न हुने संघीय राज्य प्रणालीको आधारभूत मान्यता रहेता पनि अधिकार प्रत्यायोजन भएकाे छैन । संविधानकाे लिखत संवैधानिक अधिकारहरू समेत प्रदेशहरूले कार्यान्वयन गर्न नसक्नु विडम्बना हाे । त्यसैले ‘जसकाे नीति, उसैकाे नेतृत्व’ निर्माण गर्नु वाहेक अर्काे विकल्प छैन ।
लेखक ः हर्कबहादुर लावती (कान्छा) नेपाली कम्युनिष्ट पार्टी नेता हुनुहुन्छ











प्रतिक्रिया