कृषि

उच्च मुल्यमा बिक्री हुने अलैची किसानको खुशी



 पाँचथर ।     उच्च मुल्यमा बिक्री गर्न पाएको अलैची बगानमा सिचाइ सुविधा पुगेर किसानको मुहारमा खुशी थपिन पुगेको छ । फुल्न थालेका अलैची बगानमा पक्की कुलो बनेर थप सिचाइ सुविधा पुगेर अलैची किसान झनै खुशी भएका छन् । पक्की कुलोहरु निर्माण भएर उत्पादन बढ्ने र उच्च मुल्यमा बिक्री गरेर जिवनयापन गर्न सजिलो भएको भन्दै यतिबेला पाँचथर जिल्लाका उच्च लेखाली क्षेत्रका किसान उत्साहित भएकाछन् ।

तिनै तहको सरकारसंगै र स्वीज सरकारको सहयोगमा जिल्लामा निर्माण भएको तिनसयबढि पक्की कुलोले किसानको खेतबारीमा भरपर्दो सिचाइ सुविधा पुगेको हो । एकातिर प्रधानमन्त्री अलैची जोन कार्यक्रम संचालन गरेर अलैचिमय बनेर लेखाली जिवन सुधार भइरहेको बेला पक्की कुलोहरु बनेर थप आम्दानी बढ्दो अवस्थामा छन् । कुलो बनेसंगै अलैची रोपण, रोग निवारण र बेर्ना अर्थात अलैचि बिरुवा वितरण गरेर किसानलाई राहत पुगेको फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठकुरसिं नेम्बाङले बताए ।

पक्की कुलो बनेका स्थानहरुमा अलैचीसंगै धान, आलु, अन्नबाली, तरकारी र फलफुल उत्पादन बढेको भन्दै किसान खुशी भएकाछन् । अलैची खेती विस्तार हुन थालेपछि पाँचथर जिल्लाको त्यसै खेर गइरहेको पहाडको भिरपाखा जमीनबाट किसानले मनग्गे आम्दानी लिन थालेकाछन् ।

जिल्लाका कामै नलाग्ने भनिएका पहाडको खोल्सा र भिरपाखा जमिनमा अलैचि बगान बनेकाछन् । किसानले खाली जमिन अलैची रोप्ने क्रम बढाएको छ । जिल्लामा करिव पाँचहजार हेक्टर जमिनमा अलैची हुने गरेको छ । याङ्वरक, हिलिहाङ, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ गाँउपालिका र फिदिम नगरपालिकामा बढि अलैची उत्पादन हुने गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०८२, सोमबार, ,