समाचार

१५ सयभन्दा बढि महिलाको क्यान्सर स्वास्थ्य परिक्षण

१५२६ जनामा स्तन क्यान्सर भएर नभएको, ३५६ जनाको सामान्य अवस्था, २०७ जनाले भिडियो एक्सरे, ३१ जना आङ खसेको र २४ जनालाई भक्तपुर क्यान्सर अस्पतालमा रेफर



पाँचथर ।   पुर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमका १५ सयभन्दा बढि महिलाले स्तन र पाठेघर क्यान्सरको स्वास्थ्य परिक्षण सेवा पाएकाछन् । पाँचथर फिदिममा सुक्रबार र सनिबार सञ्चालित दुईदिने स्तन र पाठेघर क्यान्सर परिक्षण शिविरमा १५ सयबढि महिलाले सेवा लिएका हुन।

फिदिम नगरपालिकाको आयोजना र भक्तपुर क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा गरिव महिला लक्षीत गरेर ग्रामीण भेगका महिलाको स्तन र पाठेघर क्यान्सर परिक्षण शिविर चलाएको हो ।

भक्तपुर क्यान्सर अस्पताल पुगेर क्यान्सर परिक्षण तथा उपचार लिनुपर्ने महिलाले जिल्ला अस्पताल पाँचथरको शिबिरबाट स्वास्थ्य राहत पाएको महिलाले जनाएकाछन् । महिलाहरूको पाठेघरको मुख र स्तन क्यान्सर परिक्षणको नि: शुल्क शिविरबाट जम्मा २१२० जना दिदि-बहिनी तथा आमाहरूले सेवा लिनु भएको छ । Pap Smear गरेको संख्या १५०२ जना रहेको छ । यसमा पाठेघर/Cervix बाट fluid को नमुना लिई परिक्षण गरिन्छ ।

१५२६ जनामा स्तन क्यान्सर भए/नभएको परिक्षण गरिएको छ । सामान्य अवस्था रहेका ३५६ जना को परिक्षण भएको छ । २०७ जनाले भिडियो एक्स- रे सेवा लिनु भएको छ । ३१ जना महिलाहरूको आङ खसेको पाईएको छ । शिविरबाट शल्यक्रिया गर्नका लागि २४ जनालाई भक्तपुर क्यान्सर अस्पतालमा रेफर गरिएको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले जनाएको छ । 

भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ सहित१८ सदस्यीय टोलीले परीक्षण सेवा दिएको थियो । शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउन्ड लगायतका प्रविधि मार्फत स्तन र पाठेघर क्यान्सर परीक्षण गरिएको डा। उज्ज्वल चालिसेको भनाइ छ ।

क्यान्सर परीक्षणमा सहभागी मध्ये ७० प्रतिशत महिलामा पाठेघरको सामान्य समस्या देखिएको र २४ जना महिलालाई थप उपचार तथा शल्युक्रियाको लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला अस्पतालमा संचालन गरेको शिविर परीक्षण गरेका महिलाको नतिजा आगामी दुई हप्ताभित्र फिदिम नगरपालिकामा उपलब्ध हुनेछ ।

परीक्षणमा क्यान्सर देखिए नगरपालिकाले उनीहरूलाई अस्पतालसम्म आवत–जावत खर्चसमेत व्यहोर्ने नगर उपप्रमुख राधाकेष्ण न्यौपानेले बताए।
गतवर्ष महिलाले पाठेघरको स्क्रिनिङ गराएको शिविरमा ९८४ जना महिला मध्ये ३६ जनामा क्यान्सरको सम्भावित लक्षण भेटिएको थियो ।

 

प्रकाशित : १० जेष्ठ २०८२, शनिबार, ,