खेलकुद

४२ किलोमिटरको म्याराथन उपाधि ः ताप्लेजुङका तावाहाङ



पाँचथर  ।     प्रथम फालेलुङ म्याराथन २०८१ को उपाधि ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाका रमेश तावाहाङ लिम्बूले जितेको छ । पाँचथरको फालेलुङ गाउँपालिकामा सम्पन्न ४२ किलोमिटरको म्याराथनमा तावाहाङले ३ घन्टा २२ मिनेटमा दुरी पार गर्दै प्रथम भएका हुन्। दोस्रो स्थान पाँचथर फिदिम नगरपालिका–१३, लुङरुपाका विशाल राईले ३ घन्टा २९ मिनेटमा दुरी पार गर्दै दोस्रो र काठमाडौंका राजन मेयोङ्वाले हासिल गरे। उनले ३ घन्टा ३८ मिनेटमा दूरी पूरा गरी तेस्रो भएा हुन ।

प्रथमले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र दितृयले २७ हजार २२७ रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र तेतियले नगद १२ हजार २१२ रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेका थिए।

म्याराथनमा ५४ जना धावकले प्रतिस्पर्धा गरेका आयोजक परिवर्तन संघ फालेलुङका संयोजक जनम राईले बताउनु भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ जना धावकलाई विधागत रूपमा पुरस्कृत गरिएको थियो। चौथो स्थान ताप्लेजुङका चन्द्र लिम्बूले हासिल गर्दै ५ हजार रुपैयाँ प्राप्त गरे। पाँचौं स्थानमा ओखलढुंगाका कृति राई, छैटौं स्थानमा ओखलढुंगाकै पृती राई परे। उनीहरूले नगद २–२ हजार रुपैयाँ प्राप्त गरे। सातौं स्थानमा फालेलुङ–४ का धनराज राई परे। उनी फालेलुङबाट पहिलो भएका कारण उनलाई ३ हजार रुपैयाँ प्रदान गरिएको थियो। आठौं स्थानमा सोही वडाका सन्तोष थलङ, नवौं स्थानमा सोही वडाका सुजन राई, र दशौं स्थानमा फालेलुङ–२ का लोकेन्द्र आङ्बो रहे। उनीहरूले जनही २ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा ५३ वर्षीय जेष्ठ धावक सुरेन्द्र कुमार अधिकारीलाई नगद २ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो। उनले पहिलो स्टेन मेमेङको मिलन चोकसम्म ३ किलोमिटर दूरी पार गरेका थिए। त्यस्तै, ४२ किलोमिटर पूरा गर्ने जेष्ठ धावक भीम कुमार राईलाई पनि पुरस्कृत गरिएको थियो।

म्याराथन फालेलुङ–३ सेमिचोङको भवनबाट सुरु भई फालेलुङ–४ को बोर्डर चेक पोस्ट (विओपी) पुगेर पुनः सोही स्थानमा फर्किने गरी आयोजना गरिएको थियो। मार्गको उचाइ २३०० मिटरदेखि ३३०० मिटर सम्म रहेको थियो। प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी राष्ट्रिय धावक भएको र उनीहरूलाई अझ राम्रो प्रशिक्षण आवश्यक रहेको राष्ट्रिय धाविका निक्की नेम्वाङले जानकारी दिइन्।

प्रकाशित : २१ चैत्र २०८१, बिहिबार, ,