पाँचथर । फाल्गुनन्द गाउँपालिका आङसराङकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन् । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३।९६ मिटर जम्प गर्दै रजत जितेको हो । यो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो ।
लङजम्पसहित ३ स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकामा ४ सय मिटर दौडमा उनी चौथो भइन् । प्रभाले २ सय मिटर दौडमा पनि प्रतिस्पर्धा गर्नेछन् । महिला लङजम्पमा रजत जितेकी प्रभा ४०० मिटरमा पनि पदक नजिक पुगेकी थिइन् । पारा एथलेटिक्सको यो स्तरको प्रतियोगितामा नेपालले पहिलोपल्ट पदक जितेको हो ।
प्रभाले टी–४७ क्याटगोरीअन्तर्गत महिला लङजम्पमा उक्त पदक जितेकी हुन् । स्पर्धा भारतको जवाहरलाल नेहरू स्टेडियम बिहीबार भएको हो । उनले ३।९६ मिटर जम्प गरेर दोस्रो स्थान हात पारिन् । यस इभेन्टमा श्रीलंकाकी जननी विक्रमासिंघाले स्वर्ण र उज्वेकिस्तानका मेख्रिनिसो ओविदोभाले कांस्य जितेका थिए । जननीले ५।०४ मिटर र मेख्रिनिसोले ३।४९ मिटर जम्प गरे । भारतकी कीर्ति चौहान डिस्क्वालिफाई भएकी थिइन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभाको यो दोस्रो सहभागिता हो । उनले यसै महिनाको सुरुमा दुबई ग्रान्ड प्रिक्समा भाग लिएकी थिइन् । उनले ३।५६ मिटर जम्प गर्दै आठौं स्थानमा दुबई भ्रमण टुंग्याएकी हुन् । नेपालले पहिलो पटक दुबईबाटै विश्व पारा एथलेटिक्सको ग्रान्ड प्रिक्स यात्रा सुरु गरेको हो । त्यसमा प्रभासहित नवराज कार्कीले सहभागिता जनाएका थिए ।
वर्ल्ड पारा एथलेटिक्स (डब्लूपीए) को १२ औं ग्रान्ड प्रिक्स सिजन सुरु भएको छ । लस एन्जलस २०२८ पारा ओलम्पिकको नयाँ चक्रका लागि विश्वभरका पारा खेलाडीहरू यस एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रदर्शन फर्किएका छन् । युएईबाट २०२५ को ग्रान्ड प्रिक्स सुरु भएको थियो । २०२८ को पारा ओलम्पिकका लागि ग्रान्ड प्रिक्सको प्रदर्शन छनोट आधार हुनेछ ।
सिजनको दोस्रो ग्रान्ड प्रिक्स नयाँदिल्लीमा २० देशका २ सय ८३ खेलाडी प्रतिस्पर्धामा छन् । तीनदिने प्रतियोगितामा नेपालबाट भने ६ खेलाडीले सहभागिता जनाएका थिए ।
प्रभासहित पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिसकस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । गोविन्दले ज्याभलिन थ्रोमा पनि प्रतिस्पर्धा गरे । अन्यको प्रदर्शन औसत रहेको पारा एथलेटिक्स संघ नेपालका सचिव साङ्बु भोटे जानकारी गराए । साङ्बु पनि पारा एथलेटिक्सका खेलाडी हुन् । उनले हाङचाउ एसियन गेम्स खेलेका थिए ।
नयाँ दिल्लीमा प्रभा महिला ४०० मिटर दौडमा पनि पदक नजिक पुगेकी थिइन् । उक्त इभेन्टमा उनी चौथो स्थानमा रहिन् । उनले १ मिनेट १९।३६ सेकेन्डमा दौड पूरा गरिन् । प्रभाभन्दा ४ सेकेन्डमात्र अघि रहेकी मलेसियाकी नुर फरहानीले कांस्य पदक जितेकी थिइन् । ल क्याम्पसमा स्नातक तहमा अध्ययनरत पाँचथरकी २४ वर्षीया प्रभाको जन्मजात दाहिने हातको कुहिनामुनिको भाग छैन ।











प्रतिक्रिया