अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्धमा अमेरिकाको ‘यूटर्न’, साना राष्ट्रका पक्षमा नेपालको मतदान



अमेरिका।     अमेरिकाले पहिलोपटक संयुक्त राष्ट्रसंघमा रुसले युक्रेनमाथि हमला गर्दा युक्रेनलाई बलियो साथ दिएको उसको विपक्षमा मतदान गरेको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हिमचिम बढाएका र युद्ध युक्रेनले शुरु गरेको भन्ने आरोप पनि लगाएका छन् ।
रुस–युक्रेन युद्धको तेस्रो वार्षिकीको अवसरमा संयुक्त राष्ट्रसंघमा पेश दुईवटा रिजोलुसनमा युक्रेनको विपक्षमा र रुसको पक्षमा मतदान गरेर ट्रम्प प्रशासनको अडानमा ‘यूटर्न’ गरेको स्पष्ट सन्देश दिएका छन् ।
युरोपियन युनियनले रुसको हमलालाई निन्दा गर्दै युक्रेनको भौगोलिक अखण्डतालाई समर्थन गर्ने रिजोलुसन संयुक्त राष्ट्रसंघको महासभामा पेश गरेको थियो । त्यो रिजोलुसनमा रुस, उत्तर कोरिया, बेलारुसलगायत मुलुकसँगै अमेरिकाले पनि विपक्षमा मतदान गरेको बीबीसीले उल्लेख गरेको छ ।
तर, नेपालले यो रिजोलुसनमा युक्रेनलाई साथ दिएको छ, जुन महासभाबाट पारित पनि भएको छ ।
त्यसका साथै, अमेरिकाले नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा रुसलाई आलोचना नगरी द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेश गरेको थियो । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेको सन्दर्भमा पेश भएको सो प्रस्ताव सुरक्षा परिषद्बाट पारित भयो । तर, सो प्रस्तावमा लेखिएका शब्दहरू संशोधन गर्ने प्रयासलाई भिटो प्रयोग गरी असफल बनाइएपछि अमेरिकाका परम्परागत सहयोगी मुलुकहरू बेलायत र फ्रान्स मतदानमा अनुपस्थित रहे । (स्रोत अनलाइन खबर)

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलबार, ,