समाचार

पाँच शैयाको अस्पतालबाट सेवा सुरु



पाँचथर।  फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा निर्माण सम्पन्न भएको पाँच शैयाको आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । पालिका स्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अस्पताद भवनबाट स्वास्थ्य सेवा सुरु गरेको हो ।

स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब नौ रोपनी जग्गामा निर्माण भएको डेढ तलाको अस्पताल भवन ६ करोड ४६ लाख ३२ हजार ३६ रुपैयाँ २० निर्माण गरेको हो। १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि ढिलाइ भएको छ । सेवा सुचारु गरीए पनि आगामी वैशाख महिनाभित्र उद्घाटन गर्ने तयारी भइरहेको पालिका अध्यक्ष वृजहाङ आङद्म्बेले जनाइएको छ।

जयमाता जीआरडी जेभी, काठमाडौंले ढिलाइगरी निर्माण भएको त्यस अस्पतालमा इमरजेन्सी, प्रसूति सेवा, अपरेशन थिएटर, एक्स–रे, इसिजी, युएसजी, फार्मेसी, ल्याब, माइनर अपरेशन, पार्किङ, सेप्टिक ट्याङ्क र सोकपिटलगायतका पूर्वाधार बनेकाछन् । अस्पतालमा एक जना मेडिकल अफिसरसहित १८ जना स्वास्थ्यकर्मी रहने फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले बताए ।

त्यस भवनमा आयुर्वेद सेवा, एकीकृत स्वास्थ्य सेवा सञ्चालन सुरु भएको छ । पालिकामा पाँच वटा स्वास्थ्य चौकी, एउटा आधारभूत अस्पताल, एउटा सामुदायिक स्वास्थ्य इकाइ र आयुर्वेद सेवा उपलब्ध भएता पनि त्यस अस्पतालमा मेडिकल अफिसर डा. उपेन्द्र पोख्रेलसहित १८ जनाको दरबन्दी रहने पालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले जनाएको छ ।

त्यस अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि फाल्गुनन्द गाउँपालिकासँगै इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरकै मिक्लाजुङवासीले सेवा लिन सक्ने जनाएकाछन् ।

प्रकाशित : २६ चैत्र २०८२, शुक्रबार, ,