अन्तर्राष्ट्रिय

बंगलादेशमा बीएनपीको जिया परिवारमा फर्किँदै सत्ताको बागडोर



बंगलादेश ।   बंगलादेशमा हिजो विहिबार सम्पन्न भएको ऐतिहासिक निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी बीएनपी ले दुई तिहाई बढी सिट जितेको छ ।
मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका ३०० सिटमध्ये २०० भन्दा बढी सिटमा जित हासिल गरेर यस नतिजा सँगसँगै बीएनपीका प्रमुख तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा बन्ने करिब निश्चित छ ।

१७ वर्षको निर्वासन र दर्जनौँ अदालती मुद्दाहरू खेपिरहेका बीएनपीले नेता रहमानलाई बंगलादेशको राजनीतिमा पुनर्स्थापित र सन् २०२४ को जुलाई क्रान्ति पछिको नयाँ बंगलादेशको निर्माण गर्ने जनअनुमोदन गराएको छ ।

६० वर्षीय रहमान प्रभावशाली जिया परिवारका प्रमुख हुन् । दशकौँदेखि देशको राजनीतिमा प्रभुत्व जमाउँदै आएका छन् । उनका बाबु जियाउर रहमान र आम बेगम खालिदा जिया दुवैले यसअघि बङ्गलादेशको नेतृत्व गरिसकेका छन् ।

तारिक रहमानको जन्म २० नोभेम्बर १९६५ मा तत्कालीन पूर्वी पाकिस्तानको ढाकामा भएको थियो। उनका पिता जियाउर रहमान बंगलादेशको स्वतन्त्रताको घोषणा गर्ने सेनाका प्रमुख थिए । पछि राष्ट्रपति बने। तर सन् १९८१ मा चटगाउँमा सैनिक कूको प्रयासका क्रममा उनको हत्या भएको थियो । उनी त्यस समयमा ४५ वर्षका थिए।

त्यसपछि उनकी आमा खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनिन् । १५ वर्षसम्म देशको बागडोर सम्हालिन्।

तारिकले आफ्नो राजनीतिक यात्रा निकै सानो उमेरबाट सुरु गरे। सन् १९८८ मा बीएनपीको प्रारम्भिक सदस्य बनेका उनले सन् १९९१ र १९९६ को निर्वाचनमा आफ्नो आमाको चुनावी अभियानमा ठूलो भूमिका खेले ।

सन् २००१ मा बीएनपी सत्तामा आएपछि उनी पार्टीको संयुक्त महासचिव बने । उनले देशभर भ्रमण गरी पार्टीको संगठनलाई तल्लो तहसम्म पुऱ्याए । जसले उनलाई कार्यकर्ताहरूमाझ लोकप्रिय बनायो ।

सन् २००१ देखि २००६ सम्मको बीएनपी शासनकाल तारिकका लागि सफलता र विवाद दुवैको समय रह्यो। यस समयमा उनीमाथि पटक पटक विभिन्न आरोपहरू लागे । अक्टोबर २००६ मा बीएनपी नेतृत्वको सरकारले राजीनामा दिएपछि तीव्र राजनीतिक अशान्तिबाट गुज्रिरहेको थियो । त्यस समयकी विपक्षी दलकी नेतृ अवामी लिगकी शेख हसिनाले बीएनपी र यसको नेतृत्वमाथि धेरै गम्भीर आरोपहरू लगाएकी थिइन् ।

बीएनपीको कार्यकाल २००१ र २००६ भर भ्रष्टाचारका आरोपहरू रहे तापनि २००७ मा यिनीहरू झन् तीव्र भए । विशेषगरी खालिदा जियाका छोरा तारिक रहमानको प्रभावमा रहेको ढाकाको ‘हवा भवन’ मा रहेको बीएनपी कार्यालयलाई प्रतिपक्षी दलहरूले ‘सत्ताको समानान्तर केन्द्र’ भनी आरोप लगाए ।

यी आरोपहरू र परिणामस्वरूप भएको हिंसात्मक प्रदर्शनले राजनीतिक गतिरोध पैदा गर्‍यो । जसले गर्दा जनवरी २००७ मा सैन्य(समर्थित कब्जा भयो । ठूला भ्रष्टाचार विरोधी अभियानहरू सुरु गर्न नयाँ अन्तरिम सरकार स्थापना भयो ।

यस पश्चात तारिकमाथि चरम संकट आइपर्‍यो । सैन्य(समर्थित केयरटेकर सरकारले उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्‍यो। कारागारमा चरम यातना पाएको दाबी गरिएका तारिकलाई २००८ मा उपचारका लागि लण्डन जान अनुमति दिइयो ।

लण्डनको निर्वासित जीवन र राजनीतिक पुनर्गठन २००८ र २०२५ लण्डनको निर्वासन तारिक रहमानको राजनीतिक जीवनको सबैभन्दा ठूलो परीक्षा थियो ।

रहमानकी आमा र तात्कालीन बीएनपीकी अध्यक्ष खालिदा जियालाई सन् २०१८ मा अवामी लिग सरकारद्वारा लगाइएका भ्रष्टाचारका मुद्दाहरूमा दोषी ठहराइयो । र जेल चलान गरियो ।

लामो समयसम्म गम्भीर रोगहरूसँग लडेकी जियाको डिसेम्बर ३०, २०२५ मा ढाकाको एभकेयर अस्पतालमा उपचारकै क्रममा निधन भयो ।

सन् २०२४ मा विद्यार्थीहरूले सरकारी कोटा प्रणाली विरुद्ध आन्दोलनको सुरू गरे । जसलेपछि शेख हसिनाको राजीनामा र बहिर्गमनको माग गर्‍यो । करिब १,००० भन्दा बढी प्रदर्शनकारीको ज्यान गएको उक्त हिंसात्मक कदमपछि हसिना भारत निर्वासित भइन् ।

त्यसयता बंगलादेशमा ‘अवामी लिग’ बिनाको राजनीतिक वातावरण तयार भयो । अन्तरिम सरकारले निर्वाचन आयोग, प्रहरी प्रशासन र न्यायपालिकामा व्यापक फेरबदल गरी आजको निर्वाचनका लागि वातावरण तयार पारेको हो । २०२४ अगस्टमा शेख हसिनाको सरकार ढलेपछि बंगलादेशको राजनीतिमा ठूलो परिवर्तन आएको हो ।

 

प्रकाशित : ३० माघ २०८२, शुक्रबार, ,