काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।
अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।
देउवा पक्षका कार्यकर्ताको निर्वाचन आयोगविरुद्ध विरोध
शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले निर्वाच आयोग विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजनीमा माग गर्दै प्रदर्शन गरेका हुन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधर गगन थापा(विश्वप्रकाश शर्मा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि त्यस निर्णय विरुद्ध उनीहरूले नाराबाजी गरेका हुन् ।
कांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।
सूचनामा पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ । गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेलगत्तै बैठक डाकिएको हो । यो समूहले आयोगको निर्णय मान्य नहुने बताउँदै आएको छ ।











प्रतिक्रिया