राजनिति

अब कांग्रेस विभाजनको संघारमा

पार्टीको भावी नेतृत्व र प्रधानमन्त्री गगन थाप हुने प्रस्ताव



काठमाडौं ।  पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् ।

विशेष महाधिवेशनमा बन्दसत्र चलिरहँदा मंगलबार दिउँसोबाट नै नेतृत्व चयनको लागि चुनावी प्रक्रिया अघि बढेको छ । नेतृत्वदायी पदमा आउनका लागि आकांक्षीहरूले फारम लिइरहेका छन् ।

महामन्त्री थापाले विशेष परिस्थितिमा महाधिवेशन नेतृत्वका आकांक्षीहरूलाई अहिले उदार बन्न अपिल गरेका छन् । महामन्त्री थापाले अब प्रक्रिया अघि बढिसकेको छ । कसैले यसलाई दखल अन्दाज गर्न मिल्दैन । यसपछि नियमित महाधिवेशन गर्ने हो । यो बेलामा यो आन्दोलन अभियान र विद्रोह हो ।

संस्थापन पक्षसँग सहमतिका लागि सोमबार दिउँसोबाट नै प्रयास भएको थियो । आज दिनभर पनि संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरहरूबीच वार्ता भएको थियो ।

विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्तावहरू पारित गर्नुपर्ने, शेरबहादुर देउवाले सभापति छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने लगायतका प्रस्तावहरू राखेका थिए । तर यो प्रस्तावमा संस्थापन पक्ष तयार भएन ।

महाधिवेशनलाई नै संस्थापन पक्षले अवैधानिक भन्दै आएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । यता विशेष महाधिवेशन पक्षधरले के गर्छन् भन्ने पर्ख र हेरको नीतिमा रहेर संस्थापन पक्षका नेताहरूले बैठक गरेनन् । साँझ छोटो समयका लागि बैठक राखेर बुधबार बिहानका लागि बैठक सारिएको छ ।

यता विशेष महाधिवेशन पक्षधरहरूले पनि संवादलाई टुटाएका चाहिँ छैनन् । विशेष महाधिवेशन पक्षधरबाट गुरुराज घिमिरे, प्रदीप पौडेल, देवराज चालिसेले कुरा गरिरहेका छन् । तर, कुराकानी महाधिवेशनलाई अल्झाउने खालको रणनीतिमा मात्र केन्द्रित भएको देखिएपछि विशेष महाधिवेशन आफ्नो प्रक्रियामा भने रोकिएको छैन ।

मंगलबार विशेष महाधिवेशनस्थलमा वार्ताको नाममा अल्झिन नहुने भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजी समेत गरेका थिए । यस कारण पनि अब विशेष महाधिवेशन नीति र नेतृत्वबारे निर्णय नगरी नहुने विन्दुमा पुगेको छ । अब नेतृत्वबारे भने बुधबार टुंगो लाग्दै ।

यो बीचमा रातारात संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरको माग पुरा गर्ने गरी कुनै स्वीकार्य प्रस्ताव ल्याउला कि भन्ने झिनो आश त छ । तर विभाजनको स्पष्ट रेखा कोरिइसकेकाले सामान्य प्रस्तावले अब रोक्ने जस्तो देखिएको छैन ।

प्रकाशित : २८ पुस २०८२, मंगलबार, ,