खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा फिदिम माध्यमिक विद्यालयको निरन्तर जित



पाँचथर ।   सातौं राष्ट्रपति रनिङ शिल्ड पनि फिदिम माध्यमिक विद्यालयले जित्न सफल भएको छ । फिदिम नगरपालिका १ वडामा रहेको फिदिम माध्यमिक विद्यालय यो लगातार चौथो पटक नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।

सातौं राष्ट्रपति रनिङ शिल्ड यसपटक ५२ विधामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा फिदिम माविले ३३ स्वर्ण, १० रजत र ११ काँस्य पदक सहित पहिलो स्थान हाँसिल गरेको हो ।

फिदिम नगरपालिका ७ वडामा रहेको रानिटार माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र ६ काँस्य पदक जित्दै दोस्रो भएको हो । फिदिम नगरपालिका १२ वडामा रहेको सिद्धदेवी माध्यमिक विद्यालय नांगीन ९ स्वर्ण, १२ रजत र ६ काँस्य पदक जित्दै तेस्रो भएको छ

फिदिम माविले यसअघि राष्ट्रपति रनिङ शिल्ड चौथो, पाँचौ र छैटौं संस्करण जितेको थियो । लगातार तीन वर्ष शिल्ड जितेको फिदिम माविले गतबर्ष फिदिम नगरपालिकाबाट नगद ३ लाख रुपैयाँ प्रोत्साहन पुरस्कारसमेत प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।

सातौं राष्ट्रपति रनिङ विजेता भएर नगरपालिकाले ३० हजार रुपैयाँ सहितको प्रोत्साहन गरेको छ । दोस्रो भएको रानिटारले २० हजार र तेस्रो भएको सिद्धदेवी मावि नांगिनले १० हजार प्रोत्साहन रकम प्राप्त गरेकाछन् ।

सातौं राष्ट्रपति रनिङका विजेता, उपविजेता, विद्यालयका शिक्षक र खेलाडीलाई प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले उपप्रमुख राधाकृष्ण न्यौपाने, शिक्षा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललगायतले शिल्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । बिजेता बिद्यालयलाइ जनप्रतिनिधि, राजनितीक दल र खेलकुद विकास समितिहरुले राष्ट्रपति रनिङ बिजेताहरुलाई सफलताको शुभकामना ब्यक्त गरेको थिए ।

प्रकाशित : १४ पुस २०८२, मंगलबार, ,