भक्तपुर । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा हुने समारोहमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् ।
हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महसचिव शंकर पोखरेलले सांगठिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको प्रतिवेदनमाथि ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । उनले केन्द्रीय कार्यालयमा ‘अवधारणा–पत्र’ दर्ता गराइसकेका छन् ।
अवधारणा–पत्रमा ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीको आन्तरिक लोकतन्त्रको सवाल उठाइएको छ । पोखरेल अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिने तयारीमा छन् । विश्लेषकले यस महाधिवेशनलाई २०६५ मा भएको बुटवलको आठौं महाधिवेशनसँग तुलना गरेका छन् ।
राजनीतिक, वैचारिक र नेतृत्वको प्रतिस्पर्धाका सन्दर्भ दुई महाधिवेशनलाई उनीहरूले तुलना गरेका हुन् । आठौं महाधिवेशनमा ओलीले नेतृत्वका लागि प्रतिस्पर्धा मात्र गरेका थिएनन्, फरक राजनीतिक दस्तावेज समेत प्रस्तुत गरेका थिए । उनी अध्यक्ष पदमा झलनाथ खनालसँग पराजित भएका थिए ।
आठौं महाधिवेशनले ओलीको पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी प्रस्ताव गरेको थियो । ०५९ मा जनकपुरको सातौं महाधिवेशनमा पनि ओलीले पार्टीको लोकतान्त्रीकरण सम्बन्धी प्रस्ताव पेस गरेका थिए तर पारित भएन ।
राजनीतिक विश्लेषक झलक सुवेदी एघारौं महाधिवेशनले परम्परागत नेतृत्वलाई चुनौती दिएकाले आठौं महाधिवेशनसँग मेल खाएको बताउँछन् । ‘आठौं महाधिवेशनमा परम्परागत नेतृत्वलाई ओलीले चुनौती दिएका थिए । यो महाधिवेशनमा ओलीलाई ईश्वर पोखरेलले वैचारिक र नेतृत्वमा पनि चुनौती दिँदै छन्,’ उनले भने ।
नेपालको राजनीतिक परिदृश्यका हिसाबले पनि यो महाधिवेशन चुनौतीपूर्ण रहेको र ‘जेन–जी आन्दोलनले एमाले नेतृत्वको सरकारलाई विस्थापन गरेको बेला महाधिवेशन हुँदै छ ।
साउन २०७१ मा भएको नवौं महाधिवेशन भने ओलीका लागि राजनीतिक कार्यदिशा र नेतृत्व लिन सहज अवस्था भयो । ओलीले १५ वर्ष पार्टी महासचिव भइसकेका माधव नेपाललाई अध्यक्ष पदमा पराजित गरेका थिए । मंसिर २०७८ मा चितवनमा भएको दसौं महाधिवेशनमा ओलीले पार्टी जीवनको लोकतन्त्रलाई नाम मात्रको बनाइसकेका थिए । त्यस महाधिवेशनमा संस्थापनविरुद्ध प्रतिस्पर्धा गरेका भीम रावल, घनश्याम भुसाल एमालेमा अटाउन नसक्ने अवस्था बन्यो ।
अहिलेको महाधिवेशनमा संस्थापनविरुद्ध उत्रिएका वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य कर्ण थापाको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ । पोखरेलले निर्वाचनबाट आउने परिणामलाई स्वीकार गर्ने बताउँदै आएका छन् ।
एमाले चौथो महाधिवेशनको कार्यदिशाअनुरूप अघि बढिरहेको छ । भदौ २०४६ मा सिरहामा भएको तत्कालीन मालेको चौथो राष्ट्रिय महाधिवेशनले नयाँ जनवादको सट्टा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सारेको थियो । त्यसलाई पाँचौं महाधिवेशनले अनुमोदन गरेको थियो । माघ २०४९ मा काठमाडौंमा भएको पाँचौं महाधिवेशनले मदन भण्डारीबाट अघि सारिएको जनताको बहुदलीय जनवाद ९जबज० लाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अंगीकार गरेको थियो । एघारौं महाधिवेशनले पनि जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ ।
जिल्ला, पार्टीका विभाग, भ्रातृ संगठनबाट निर्वाचित तथा केन्द्रीय कमिटीमा रहेका गरी २ हजार १५४ प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदै छन् । निर्वाचित प्रतिनिधि संख्याको पाँच प्रतिशत अर्थात् १ सय ८ जना केन्द्रीय सचिवालयले मनोनयन गर्ने व्यवस्था छ । केन्द्रीय सल्लाहकार परिषद्का ३ सय ९ जना पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् ।
महाधिवेशनमा ४० वर्षमुनिका १८.४ प्रतिशत अर्थात् ३ सय ९६ प्रतिनिधि रहेका छन् । सबैभन्दा धेरै प्रतिनिधि ५०–५९ उमेर समूहका ३४ दशमलव ८ प्रतिशत छन् । ४०–४९ वर्ष समूह २७.५ प्रतिशत (५९३ जना, ५०–५९ वर्षका ३४।८ प्रतिशत (७५० जना) र ६०–७९ वर्ष समूहका १७.३ प्रतिशत (३७३ जना) छन् । ७० वर्षमाथिका महाधिवेशन प्रतिनिधि १.९ प्रतिशत (४२ जना) छन् ।
मञ्चमा सम्पदा र ओलीको कटआउट’
महाधिवेशन उद्घाटनका लागि भक्तपुरको सल्लाघारीमा मञ्चलाई सिँगारिएको छ । चाँगुनारायण, ललितपुरको कृष्ण मन्दिर, भक्तपुरको न्यातपोल, पचपन्न झ्याले, पशुपतिनाथ, धरहरालगायत सम्पदाका चित्रले मञ्च सिँगारिएको मञ्च व्यवस्थापन समितिका संयोजक नेता विनोद श्रेष्ठले जानकारी दिए । ‘मञ्चमा काठमाडौंको राम्रो दृश्य देख्न सकिन्छ,’ उनले भने ।
मञ्चमा अध्यक्ष केपी शर्मा ओलीको ‘कटआउट’ राखिएको छ । महाधिवेशनको लोगोमै धरहराको चित्र छ । एमाले अध्यक्ष ओलीले भूकम्पपछि धरहरा पुनर्निर्माणलाई गौरवका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम रहेको छ । एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।
मुलुकमा कम्युनिस्ट शक्तिहरुको एकताको विकल्प नरहेको ः
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिस्ट शक्तिहरुको एकताको विकल्प नरहेको बताएका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिस्ट शक्तिबीचको एकता अनिवार्य सर्त बनेको जिकिर गरेका हुन् ।
नेता गुरुङले मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा पुगेको औंल्याउँदै त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिस्टहरुबीचको बृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरुबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताए ।
‘फेरि पनि कम्युनिस्टहरुको एकीकरणको विकल्प छैन । वामपन्थीहरुको एकताको विकल्प छैन । कम्युनिस्टहरुको एकता, वामपन्थीहरुको एकताको साथै सबै लोकतान्त्रिक, देशभक्त राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्दै लोकतन्त्रको रक्षा, मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक सामाजिक रुपान्तरणको विकल्प छैन । त्यसकारण सबै शक्तिहरुको बीचका सहकार्यको निम्ति कम्युनिस्टहरुको एकीकरण अनिवार्य सर्त हो, उनले भने ।
उनले नेपाली कम्युनिस्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिस्ट शक्तिहरुसँग एकताको अभियान सञ्चालन गरेको र एमाले महाधिवेशनले पनि सोही प्रस्तावलाई पारित गरेर अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । उनले भने, यही सन्दर्भमा यहाँहरुको महाधिवेशनबाट पनि भावी कम्युनिस्ट पार्टीको एकीकरणका लागि महत्त्वपूर्ण निर्णय लिन सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’
नेता गुरुङले माक्र्सवाद लेनिनवादको मार्गनिर्देशनको आधारमा नेपालका कम्युनिष्ट पार्टीहरुबीचका एकीकरण गरेर अघि बढ्न सकिने धारणासमेत राखे ।
निर्वाचनका माध्यमबाटै संविधानलाई लिकमा फर्काउने चाहना ः
भामा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने निर्वाचनका माध्यमबाटै संविधानलाई लिकमा फर्काउनुपर्ने धारणा राखेका छन् । एमालेको एघारौं महाधिवेशनको शुभकामना दिने क्रममा खड्काले प्रतिनिधिसभा पुन स्थापनाको विषय अदालतको विचाराधीन विषय भएकाले त्यसलाईसमेत खुला राख्दै अहिलेको अवस्थामा कांग्रेस निर्वाचनको पक्षमा रहेको बताएका हुन् ।
‘अहिलेको अवस्थामा संविधानलाई लिकमा फर्काउने काम निर्वाचनले मात्रै गर्न सक्छ भन्ने हाम्रो पार्टीको धारणा छ,’ खड्काले भने, ‘शान्तिपूर्ण र भयरहित निर्वाचनको वातवरण बनाउने दायित्व सरकार र निर्वाचन आयोगकोले पूरा गर्नुपर्छ ।’
एमालेको महाधिवेशनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट कार्यबाहक सभापति खड्का गएका थिए । खड्काले भदौ २३ र २४ गतेको घटनामा प्रहरीबाट लुटिएका हतियार र भागेका कैदीबन्दीहरुका कारण निर्वाचनमा भयको वातवरण भइरहेको बताए ।
‘निर्वाचनमा सबैले भाग लिने वातवरण सुनिश्चिता बनाउने काम सरकारको हो । तर के सरकारका निर्णय र गतिविधिहरु निर्वाचन गराउने र भयरहित वातवरण बनाउन सरकारका निर्णय र विचाहरु अघि बढेका छन् रु यसतर्फ हामीहरु गम्भीर छौं,’ उनले भने,‘सरकार पनि गम्भीर भएर निर्वाचनको वातवरण बनाउने काम गरोस् ।’
खड्काले भदौ २३ र २४ गटेको घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय छानबिन आयोगले आग्रह र पूर्वाग्रह छाडेर निष्पक्ष प्रतिवेदन ल्याउन आग्रह गरेका छन् । उनले नेताहरुलाई स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने कामले समितिको काममा सशंकित बन्नुपरेको धारणा राखे ।
उनले अहिलेको संकटको निकासका लागि आन्तरिक रुपमा साझा विचार भएका र जेन–जी पुस्ताहरुलाईसमेत जोडेर नयाँ एकता र सहकार्यको निर्माण गर्नुपर्ने बताए ।
जनताबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधान घाइते पारिएको दावि ः
एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जनताबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधान घाइते पारिएको बताएका छन् । उनले लोकतन्त्र कमजोर पारिएको अवस्थामा मुलुकलाई पुर्याइएको पनि बताए ।
भक्तपुरमा आयोजित एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विभिन्न गतिविधि गरेर नेपालको संविधान घाइते पारिएको बताए ।
हामी यस्तो चुनौतीको क्षणमा पार्टीको ११ औँ महाधिवेशन आयोजना गरिरहेका छौं, देशमा जनताले लामो संघर्षबाट प्राप्त गरेको संविधान सभाबाट निर्माण भएको संविधान घायल भएको छ । जनताले दशकौं लामो संघर्षबाट प्राप्त लोकतन्त्र कमजोर बनाइएको छ, पोखरेलले भने, नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधिसभा विघटन गरिएको छ र मुलुकमा अनिश्चयता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि प्रतिगमनतर्फ धकेल्ने दुष्प्रयत्न भएको बेलामा महाधिवेशन आयोजना गरिरहेका छौं ।
भदौ २३ र २४ को घटना पछाडि हाम्रो मुलुकमा पार्टी अध्यक्ष ओलीका विरुद्धमा प्रचारबाजी गरियो । घटनाको जिम्मेवारका रुपमा अध्यक्ष ओलीलाई चित्रण गर्ने दुष्प्रयत्न गरियो । जुन प्रकारका घटना भए नवयुवाको भावनामा खेलेर राष्ट्रविरोधी, लोकतन्त्र विरोधी, गणतन्त्र विरोधी र नेपालका राजनीतिक दलका विरुद्धमा गतिविधि भएको बुझेकै छौं, पोखरेलले भने ।
षडयन्त्रको जगमा राष्ट्रलाई विध्वंसमा लैजाने प्रयत्न भएको पोखरेलले बताए । मुलुकलाई लोकतन्त्रका दिशामा अगाडि बढाउने संकल्प पार्टीले महाधिवेशनबाट गरेको उनको भनाइ छ ।
नेकपा एमालेको ११औं महाधिवेशनलाई केन्द्रित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा ः
भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु नेकपा एमालेको ११औं महाधिवेशनलाई केन्द्रित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । जेन–जी आन्दोलनपछि फरक परिस्थितिमा हुन लागेको महाधिवेशनमा कुनै अप्रिय गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० ईश्वर कार्कीले बताए । ‘काठमाडौं र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिको निर्णय अनुसार वेग्लै योजना बनाएर प्रहरी टोली परिचालित छ,’ उनले कान्तिपुरसँग भने, ‘नेपाल प्रहरीबाट मात्र १५ सय बढी सुरक्षाकर्मी खटिएका छन् ।’
शनिबार मात्र उपत्यकामा एमाले महाधिवेशन, टुँडिखेलमा साकेला र कीर्तिपुरमा नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइल खेल गरी तीन वटा ‘मेगा इभेन्ट’ रहेको भन्दै उनले भने, ‘सबैलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारेका छौं ।’ एमाले महाधिवेशनमा प्रवेश गर्नेहरुको जाँचमा कडाइ गरिएको छ भने मेटल डिटेक्टरसमेत प्रयोग गरिएको छ ।
प्रहरीले जाँचका लागि नेपाल प्रहरीको कुकुर शाखाबाट तालिम प्राप्त कुकुरलाई समेत महाधिवेशन स्थलमा खटाइएको छ । विस्फोटक पदार्थ खोजीमा विज्ञ कुकुरलाई परिचालन गरिएको प्रहरीको भनाइ छ । ‘सुरक्षामा कुनै चुक नहोस् भन्नेमा सचेत छौं,’ एआईजी कार्कीले भने ।
उनका अनुसार, ट्राफिक आवतजावतमा समेत असहज स्थिति नहोस् भनेर जुलुसका लागि एउटा सर्भिस लेन मात्र प्रयोग गर्न दिइएको छ भने पार्किङलाई समेत व्यवस्थित गराउने प्रयास गरिएको छ । ‘भक्तपुरमा पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिर गरेर ५ वटा स्थानमा सवारीसाधन पार्क गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘त्यसो हुँदा जाँचमा समेत सजिलो हुने भयो भने उहाँहरुलाईसमेत सहजता भएको छ ।’
महाधिवेशन सुरक्षाका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोलीसमेत आफ्नै किसिमले परिचालित छन् । एमालेले महाधिवेशन सुरक्षाका लागि १० हजार स्वयंसेजक परिचालन गरेको जानकारी दिएको छ । एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।











प्रतिक्रिया