खेलकुद

३,६०० मिटर उचाइसम्मको म्याराथन इलामका सन्जय राईलाई



पाँचथर ।   फालेलुङ गाउँपालिकामा आयोजित तेस्रो फालेलुङ पर्यटन महोत्सवको अवसरमा समुद्री सतहबाट करिब २,३०० मिटर उचाइबाट सुरु भएको म्याराथन तीनसिमानाको ३,६०० मिटर उचाइसम्मको दौडको खुल्ला पुरुष म्याराथन प्रतियोगिताको उपाधि इलामको सन्दकपुर गाउँपालिका–१ का सन्जय राईले जितेको छ । राईले ३२ किलोमिटर दूरी २ घण्टा ४९ मिनेट १८ सेकेन्डमा पार गरेका हुन्।

मिक्लाजुङ गाउँपालिकाका ओसन राईले प्रतियोगिताको दोस्रो विजेत भए । २ घण्टा ५७ मिनेट २१ सेकेन्डमा निर्धारीत दुरी पूरा गरेका थिए। तेस्रो स्थान भने फालेलुङका धनराज राई भए उनले ३ घण्टा ३१ मिनेटमा दूरी पार गरेका थिए। चौथो विजेता भएका याङवरक गाउँपालिका–३ का सौगात काम्बाङले ३ घण्टा ३४ मिनेटमा र पाँचौँ स्थान मिक्लाजुङ गाउँपालिका–७ ९मधुमल्ला, मोरङ० का याङ्देभ राईले ३ घण्टा ३५ मिनेटमा दूरी पार गरेको प्रतियोगिताका संयोजक रन्त थाम्सुहाङले जानकारी दिनुभयो।

म्याराथनमा जम्मा २३ जना धावकले फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङबाट सुरु भई मेमेङ, थाप्ली डाँडा हुँदै फालोट र तीनसिमाना पुगेर पुनः थाप्ली डाँडास्थित महोत्सव स्थलमा पुगेर सम्पन्न भएको थियो। 

मंसिर १५ गते बिहान ८ः३० बजे सुरु भएको थियो। दौडको नेतृत्व (लिड रनर) तितस राईले गर्नुभएको थियो भने म्याराथनको औपचारिक उद्घाटन फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन योङ्याले गर्नुभएको थियो।

यो वर्ष तेस्रो पटक फालेलुङ पर्यटन महोत्सव आयोजना गरिएको हो। महोत्सव मंसिर १२ गतेबाट सुरु भएको हो। महोत्सव अन्तर्गत वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि सञ्चालनमा रहेको छ, जसको फाइनल खेल यही मंसिर १५ गते सम्पन्न भएको आयोजक संस्था तीनसिमाना जनसेवा समाज मेमेङका अध्यक्ष लेन्जो सावदेनले बताउनुभयो।

म्याराथन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने धावकले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रोले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। साथै सातौँ स्थानसम्म आउने धावकलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियोे ।

प्रकाशित : १६ मंसिर २०८२, मंगलबार, ,