काठमाण्डौ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट हुन थालेका छन् । एमालेको महाधिवेशन प्रतिनिधि छनोटको सम्मुखमा कहीँ गुटको लडाइँ हुन थालेको छ । पार्टीभित्रको आन्तरिक समीकरण महाधिवेशनसम्म धेरै फेरबदल हुने अवस्था देखिन्छ ।
नेतृत्वका लागि आकांक्षीहरू धेरै भएपछि समीकरणमा फेरबदल आउन थालेको छ । ११औँ महाधिवेशन नजिकिएसँगै एमालेमा गुटबन्दी तीव्र रूपमा चलिरहेको छ ।
जेन–जी विद्रोहभन्दा एक दिनपहिला विधान महाधिवेशन गरेको एमालेले सबै कुरा सर्वसम्मत तरिकाले गरेको थियो । तर, एमालेले विधान महाधिवेशन सकेको दोस्रो दिन नेपालमा भएको जेन–जी विद्रोहले ओलीको सत्ता मात्र ढालेन नेपाली राजनीतिक पार्टीहरूलाई पनि राम्रोसँग विघटन र पुनर्गठनमा पुर्याएको छ ।
एमाले महाधिवेशन यही २७ मंसिरमा भक्तपुरमा उद्घाटन हुने तय भएको छ । ११औँ महाधिवेशन पनि ओलीका लागि सोचेजति सहज हुने देखिँदैन । १०औँ महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुन खोजेका ओलीलाई तत्कालीन उपाध्यक्ष भीम रावलले चुनौती दिएका थिए ।
आफ्नोविरुद्ध बोल्नेलाई पनि कारबाही गर्ने ओली महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेका छन् । पछिल्ला दिनमा ओलीले भनेका कुराहरूको पोखरेलले खण्डन गर्दै आएका छन् । ओलीले आफूले महाधिवेशन उद्घाटन मन्तव्य राख्ने र सिधै नेतृत्व चयनमा जाने बताएका थिए ।
एमालेको अहिलेको विधानअनुसार अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । तर, दुवै गुटमा पदाधिकारीमा मात्र आकांक्षी धेरै छन् । ओली गुटमा अझ बढी आकांक्षी छन् । पोखरेल गुटमा टिम मिलाउन त्याग गर्ने गरी तयारी गरिरहेका छन् । आकांक्षीहरू बढी हुँदा दुवै गुटलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।
अध्यक्ष ओली र पोखरेलबीच प्रतिस्पर्धा हुँदा पहिलो नम्बरको उपाध्यक्ष र अन्य उपाध्यक्षमा पनि धेरै नेताहरू आकांक्षी छन्, जसमा अहिले भएका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गुरुप्रसाद बराल छन् ।
अध्यक्षपछि सबैभन्दा बढी चर्चामा रहने कार्यकारी पद हो महासचिव । महासचिव हुने पनि धेरै नेताहरूको चाहना छ । अध्यक्ष हुन नपाएपछि दोहोरिने तयारीमा महासचिव शंकर पोखरेल छन् । उनी सुरुदेखि ओलीको बचाउमा सामाजिक सञ्जालदेखि पार्टीभित्र निरन्तर खटिरहेका छन् । ओलीले अध्यक्षमा तेहेरिन चाहेपछि उनको अध्यक्ष बन्ने चाहनामा ब्रेक लागेको छ ।
पोखरेल महासचिवमा दोहोरिन चाहन्छन् । ओलीले टिम मिलाउनुपर्दा पहिलो नम्बरको उपाध्यक्ष विष्णु पौडेललाई बनाउनुपर्ने हुन्छ । पौडेल पहिलो नम्बरको उपाध्यक्ष हुँदा पोखरेल महासचिवमा दोहोरिन सक्ने एमाले नेता बताउँछन् । ती नेताले भने, ‘टिम बन्दै छ । बनिसकेको छैन । सबैलाई आआफ्नो चिन्ता छ । विष्णु पौडेललाई पहिलो उपाध्यक्ष बन्दा शंकर पोखरेल महासचिवमा दोहोरिन सक्छन् ।’
महासचिवमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेको चर्चा छ । पोखरेल, ज्ञवाली अहिलेसम्म ओली गुटबाट महासचिवको तयारीमा छन् । गुरुङ अहिले पनि महासचिव जसले दिन्छ, त्यतै जाने तयारीमा रहेको बताइन्छ । उनलाई मध्यमार्गी रूपमा हेरिएको छ ।
पाण्डे, भट्टराई र विष्ट पोखरेल टिमबाट महासचिवको तयारीमा छन् । उपमहासचिवमा पुरानै दोहरिनेदेखि नयाँ अनुहार प्रतिस्पर्धा गर्ने तयारीमा छन् । ओली गुटबाट उपमहासचिवमा सचिव पद्मा अर्याल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र स्थायी कमिटी सदस्य शेरधन राई र खगराज अधिकारी छन् ।
सचिवमा स्थायी कमिटी सदस्य हिक्मत कार्की, खगराज अधिकारी, पदम गिरी, महेश बस्नेत र नेकपा एसबाट एमाले प्रवेश गरेकी रामकुमारी झाँक्रीको चर्चा छ ।
पोखरेल गुटबाट सचिवमा ठाकुर गैरे, कर्णबहादुर थापा, गोकुल बाँस्कोटा र विन्दा पाण्डेको चर्चा छ । एमालेमा दुवै पक्ष प्यानल बनाएर नै निर्वाचनमा होमिने भएका छन्, जसका लागि संस्थापन गुटमा ओलीलगायतका नेताहरू छन् । इतर गुटमा वरिष्ठ उपाध्यक्ष पोखरेललगायतका नेताहरू छन् ।













प्रतिक्रिया