अन्तर्राष्ट्रिय

थप ३६ देशका नागरिकलाई प्रवेश निषेध गर्ने तयारीमा अमेरिका



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गर्ने तयारी गरिरहेको छ ।

समाचार संस्था रोयटर्सले प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालयको गोप्य दस्ताबेजमा यो प्रतिबन्ध लगाउने विषय समावेश गरिएको छ ।

हालै, अमेरिकाले विश्वमा १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको थियो । ‘विदेशी आतंकवादीहरू’ र राष्ट्रिय सुरक्षाका अन्य खतराहरूबाट बचाउन यो प्रतिबन्ध आवश्यक रहेको ट्रम्प प्रशासनको दाबी गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरेको आन्तरिक कूटनीतिक नोटमा विदेश मन्त्रालयले विचाराधीन रहेका थप देशका बारेमा एक दर्जन बढी चिन्ताहरू व्यक्त गरिएको छ र सुधारात्मक कारबाहीको लागि आग्रह गरिएको छ ।

‘थप ३६ चिन्ताजनक देशहरू पहिचान भएको छ, उनीहरुले ६० दिन भित्र स्थापित मापदण्ड र आवश्यकता पूरा नगरेमा पूर्ण वा आंशिक रूपमा अमेरिका प्रवेश निलम्बन गर्न सिफारिस गर्न सकिन्छ,“ सप्ताहन्तमा पठाइएको उक्त कूटनीतिक नोटमा भनिएको छ । यो नोटको बिषयमा सबैभन्दा पहिला अमेरिकी पत्रिका वाशिङटन पोस्टले समाचार प्रकाशन गरेको थियो ।

यी देशहरूमा भरपर्दो परिचय पत्रको अभाव रहेको र राहदानीमा समेत प्रश्न चिन्ह रहेको उक्त गोप्य दस्ताबेजमा उल्लेख छ । यसै गरी, ती देशका नागरिकहरू संयुक्त राज्य अमेरिकामा आतङ्कवादी कार्यहरूमा संलग्न हुनु, यहूदी–विरोधी हुनु र अमेरिकी–विरोधी गतिविधिमा संलग्न रहेको विदेश मन्त्रालयको तर्क छ ।

थप देशका नागरिकलाई प्रतिबन्ध लगाउने तयारीको बिषयमा रोयटर्सको एक प्रश्नमा विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले टिप्पणी गर्न अस्विकार गरे । तर उनले ‘ अमेरिकीहरूको सुरक्षा सुनिश्चित गर्न र विदेशी नागरिकहरूले अमेरिकी कानुनहरू पालना गर्छन् भनी सुनिश्चित गर्न नीतिहरूको निरन्तर पुनर्मूल्याकन भइरहेको ’ बताए ।

अमेरिकाले व्यक्त गरेका चिन्तालाई सम्बोधन गर्न नसकेको अवस्थामा आगामी ६० दिन भित्र ती ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण वा आंशिक प्रतिबन्ध लाग्न सक्ने देखिएको छ ।

यी देशहरूमा अंगोला, एन्टिगुआ एण्ड बर्बुडा, बेनिन, भुटान, बुर्किना फासो, केप भर्डे, कम्बोडिया, क्यामरुन, कोर्ट डीभोर, कंगो, जिबूती, डोमिनिका, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, किर्गिस्तान, लाइबेरिया, मलावी, मौरिटानिया, नाइजर, नाइजेरिया, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, साओ टोमे र प्रिन्सिपी, सेनेगल, दक्षिण सुडान, सिरिया, तान्जानिया, टोंगा, टुभालु, युगान्डा, भानुअटु, जाम्बिया, र जिम्बाबे रहेका छन् ।

अमेरिकाले हालै यात्रा प्रतिबन्ध लगाएका १२ देशमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन पर्दछन् ।

यसै गरी, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला लगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा आंशिक प्रतिबन्ध लगाइएको छ ।

आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले सात मुस्लिम बहुमत भएका राष्ट्रहरूका यात्रुहरूमा प्रतिबन्धको घोषणा गरेका थिए, जुन नीतिलाई कैयन पटक परिवर्तन गरेर सन् २०१८ मा सर्वोच्च अदालतले सदर गरेको थियो । ( स्रोतः नागरिक दैनिक अनलाइ)

प्रकाशित : ४ असार २०८२, बुधबार, ,