समाचार

पुल भाँचिएर ६ जना घाइते



पाँचथर  ।   मेची राजमार्गमा पर्ने पाँचथर जिल्लाको फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर बेलिब्रिज  बारीपारी जोडिने क्रममा भाँचिएर ६ जना कामदार घाइते भएकाछन् । पुल जोड्न खटिएका बाराको सिमरा नगरपालिका १२ का २२ वर्षीय रुपलाल चौधरी घाइते भएका छन् । सोही स्थानका  २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राकेश चौधरीको थप उपचारका लागि जिल्ला बाहिर रेफर गरीएको छ । अन्यलाई पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेकाछन् ।

रूपलाल चौधरीको बाहिरी चोट नदेखिएको तत्काल अवस्था बोल्न सक्ने अवस्था छैन ।   राजन चौधरीको पिठ्युमा चोट छ ।  भुलेश्वर चौधरीको दायाँ खुट्टा भाँचीएको छ भने प्रकाश चौधरीको टाउकोमा र शरिरको विभिन्न भागमा चोट भएको र  अभिषेक चौधरीको टाउकोमा चोट रहेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।

७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरी वारपार गर्ने क्रममा शनिबार साँझ भाँचिएको हो ।  ७० मिटर लामो पुललाई बीचमा कुनै सपोर्ट गर्न पिलरबिना निर्माण भइरहेको थियो । पुल भाँचिदा कामदारहरू घाइते भएका छन् ।

वर्षाको बाढीले २०८० सालमा पुल बगाएको थियो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढीले बगाएको थियो । पक्की पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज बनाइएको थियो । त्यो पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण भइरहेको भाचिएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८२, शनिबार, ,