पर्यटन

सुकेटारमा चारमहिना पछि उडान सेवा फेरि सुरु



ताप्लेजुङ  ।   सरकारी स्वामित्वको हवाई सेवा कम्पनी नेपाल वायुसेवा निगमले करिब चार महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा फेरि उडान सेवा सुरु गरेको छ। निगमले आइतबार ५ यात्रु बोकेर सुकेटारमा फेरि उडान गरेको हो । निगमले गत शुक्रबार नै सुकेटारमा उडान गर्ने तालिका तय गरेको थियो । प्राविधिक समस्याका कारण आइतबारका लागि त्यसलाई सारिएको छ ।

ट्वीनअटर जहाज सुकेटारबाट ६ यात्रु बोकेर काठमाडौं फर्किएको निगमका अधिकारीहरुले जनाएका छन्। निगमसँग अहिले ट्वीनअटर जहाज २ वटा छन् । जहाजमा समस्या आएपछि निगमले मंसिर अन्तिममा सुकेटारमा उडान बन्द गरेको थियो।

सुकेटार विमानस्थलमा सीता, तारा, समिट एयर लगायतका निजी कम्पनीले उडान गरेका थिए । तर अफ सिजनमा उडाउने र पर्यटकीय सिजनमा केन्सील गरेपछि स्थानीयले विरोध जनाएका थिए । त्सपछि क्रमश बन्द भए । २०३३ सालमा निर्माण भइ सञ्चालनमा आएको विमानस्थल पचासको दशकमा पुग्दापनि भरपर्दो नहुनुले जिल्लालाई चिन्तित बनाएको छ ।

सदरमुकामबाट ८ किलोमिटर दुरीमा रहेको सुकेटारबाट जहाज चढ्न ताप्लेजुङबाहेक पाँचथर र तेहृथुमको यात्रुपनि पुग्ने गरेका थिए । अहिले ताप्लेजुङ सदरमुकामबाट जहाज चढ्न झापाको भद्रपुर वा मोरङको बिराटनगर पुग्नुपर्छ । भद्रपुर वा बिराटनगर पुग्न ताप्लेजुङबाट कम्तिमा आठ घण्टासम्म लाग्छ ।

प्रकाशित : २४ चैत्र २०८१, आइतबार, ,