सिरहा । औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित दीपक मलिकको घर डोजर चलाएर भत्काई उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबारदेखि सम्पर्कविहीन रहँदै आएका अध्यक्ष यादव शुक्रबार दलबलसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । त्यहीँबाट दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
अछूत भन्दै दलित परिवारको घर नै भत्काउन लगाउने आयोजक बजरंगी बाबा भने पक्राउ परेका छैनन् । पक्राउ गरिएका दुवैसँग प्रारम्भिक बयान लिइएको छ भने शनिबार पीडित परिवारसँग जाहेरी लिएर थप अनुसन्धान अगाडि बढाउने मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्य बताउँछन् ।
३० वर्षदेखि बस्दै आएको उक्त दलित परिवारको घर ५ वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत बनेको थियो ।चैत १७ देखि हुने भनिएको महायज्ञका लागि बनाउँदै गरिएको मण्डपनजिकै मलिकको घर थियो । महायज्ञ अपवित्र हुने भन्दै आयोजक बजरंगी बाबाको आग्रहमा गाउँपालिका अध्यक्ष यादवले पूर्ववडाध्यक्ष यादवसमेतको पहलमा मलिकको घरमा फागुन १० मा डोजर चलाएका थिए । संघको प्रतिनिधिसभा र मधेशको प्रदेशसभाका सांसदले घटनाप्रति आपत्ति जनाउँदै बिहीबारको बैठकमा संसदीय छानबिनसहित दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।
पीडकले धम्की दिनुका साथै निगरानीसमेत राखेका कारण दलित परिवारले डरले कतै निस्कन र उजुरी दिन सकेको छैन । ‘पीडकहरू पीडितको गौंडा छेकेर बसेका एक स्थानीय भन्छन् . आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादवले बिहीबार पीडित मलिकको झुपडीमा पुगेर धम्की दिई जबर्जस्ती कागज गराएका थिए, जसमा आफ्नो घर राजीखुसीले भत्काउन दिएको उल्लेख छ । उनीहरूले थप केही नबोल्न र बोले ठीक नहुने भन्दै धम्कीसमेत दिएका थिए । घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबार बिहानै दीपकको झुपडीमा पुगेर जबर्जस्ती कागज गराएका उनीहरू त्यसपछि भने ‘सम्पर्कविहीन’ बनेका थिए ।
धम्की दिएर जबर्जस्ती कागज गराएलगत्तै दीपकको परिवारलाई महायज्ञस्थल छेउमै रहेको सरकारी भवनमा लगेर गाउँपालिकाका अध्यक्ष यादव, बजरंगी बाबा र पूर्ववडाध्यक्ष यादवलगायतले ‘आफूहरू राजीखुसी त्यहाँबाट सरेको’ भन्दै भिडियोमा बोल्नसमेत लगाएका थिए ।
गाउँपालिका अध्यक्ष यादवसहित दुई जना पक्राउ परेपछि पीडित परिवारले आफूहरूलाई घर बनाइदिएर पुरानै स्थानमा पुनःस्थापना गरिदिन माग गरेका छन् ।
मलिक परिवारलाई ५ सय मिटर पर खोलाछेउ एकान्तमा टहरा बनाएर सारिएको छ । जहाँ न खानेपानीको सुविधा छ, न बिजुली बत्ती नै । दीपक र उनकी पत्नी अनिता मलिक गाउँपालिकामै सफाइ कर्मचारीका रूपमा मजदुरी गर्छन् । घटना सार्वजनिक भएयता आलोचित बनेका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार गृह मन्त्रालयले फिर्ता बोलाएको छ ।











प्रतिक्रिया