शिक्षा

प्रदेशका ८१ हजार ३६० विद्यार्थी एसइई परीक्षामा सहमागी हुने



विराटनगर ।   यस वर्ष २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् । चैत ७ गतेदेखि सुरु हुने प्रदेशका १४ जिल्लामा ३७१ परीक्षा केन्द्रहरुमा विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले साधारण धारतर्फ ७७ हजार ९५७, प्राविधिक धारतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थी एसइईमा सहभागी हुनेछन् ।

प्रदेशमा सञ्चालन हुने एसइई परीक्षामा नियमित तर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थीले एसइई परीक्षा दिनेछन् । तेह्रथुम जिल्लामा सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तेह्रथुमका १४ परीक्षा केन्द्रबाट १ हजार १९४ विद्यार्थी एसइई परीक्षामा भाग लिने मन्त्रालयले जनाएको छ ।

एसइई परीक्षा सञ्चालन हुने ३७१ परीक्षा केन्द्रमा ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, १ हजार ६१६ सहयोगी गरी जम्मा ७ हजार ३८४ शिक्षक कर्मचारी खटिनेछन् । ५ हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिक्षामा परिचालन हुनेछन् ।

 

प्रकाशित : १ चैत्र २०८१, शुक्रबार, ,