समाचार

तरकारी बजार शिलान्यास गरेको जग्गा अदालतले रोक्यो



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा धरान उपमहानगरपालिकाले तरकारी बजार निर्माण गर्न लागेको भन्दै उच्च अदालत विराटनगरले रोक लगाएको छ । वीपी प्रतिष्ठानको ग्रिनबेल्ट मार्गमा तरकारी बजारको सेड निर्माण सुरु गरेका थिए । तर उच्च अदालत विराटनगरले मंगलबार काम रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
वीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले प्रतिष्ठानको जग्गामा संरचना नबनाउन आग्रह गरेका थिए । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले बजार निर्माण गर्न खोजेपछि संग्रौलाले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले ‘अन्तिम टुंगो नलागेसम्म कुनै पनि संरचना निर्माण नगर्न भनी अन्तरिम आदेश जारी गरेको हो ।
स्थानीय सरकारको क्षेत्राधिकार भित्रको जग्गा हो भन्दै उपमहानगरपालिकाले तरकारी बजारको लागि शिलान्यास गरी सकेको छ । रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म प्रतिष्ठानको नाममा दर्ता रहेको कि।नं। १३ को जग्गा भित्र पर्ने गरी कुनै प्रकारको संरचना निर्माण नगर्न अदालतले भनेको छ ।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार, ,